Friday, July 27, 2007

२५ सय परिवार विस्थापित

२५ सय परिवार विस्थापित



कान्तिपुर संवाददाता


काठमाडौं, साउन १० - अविरल वषर्ाले मुलुकका विभिन्न भागको जनजीवन थप प्रभावित भएको
छ । पहिरोमा परी सल्यानमा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । सप्तरीमा बाढीले बगाउँदा थप एक बालिकाको मृत्यु भएको छ । कयौं घाइते भएका छन् । घर बगाउँदा र डुबानमा पर्दा कम्तीमा २५ सय परिवार विस्थापित भएका छन् । डुबानमा परेका घरको छतमा बसेकाहरूको उद्धार गर्न सकिएको छैन ।

धेरै स्थानमा यातायात र आवत-जावत अवरुद्ध भएको छ । सयौं यात्रु अलपत्र परेका छन् । विद्यालयलगायतका सार्वजनिक सरोकारका निकाय बन्द भएका छन् । कैयौं ठाउँमा विद्युत् अवरुद्ध हुन पुगेको छ । हजारौं पीडितहरू विद्यालय र सार्वजनिक स्थलमा शरण लिएर बसेका छन् । विभिन्न ठाउँमा दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ । घटना धेरै ठाउँमा भएका र वषर्ा अविरल भइरहेकाले उद्धारमा अप्ठ्यारो परेको छ । प्रशासन सबै ठाउँमा पुग्न नसक्दा क्षतिको यकिन विवरण प्राप्त हुन सकेको छैन ।

सल्यानको विकट काप्रेचौर गाविस ३ छरछरेमा बिहीबार बिहान पहिरोले घर पुरिँदा एकै घरका ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ढालबहादुर राम्जाली, उनकी श्रीमती र छोराछोरी छन् ।

परिवारका दुई बच्चा भने बच्न सफल भएका छन् । पहिरो आइरहेकाले उद्धारमा कठिनाइ भइरहेको स्थानीय बासिन्दाले जनाएका छन् । जिल्ला प्रहरी कार्यालयले काप्रेचौरबाट नजिक पर्ने कालिमाटी चौकीलाई खटाइएको जनाएको छ ।

यस्तै मोहली खोलामा आएको बाढीले बगाउँदा सप्तरी बकधुवा-९ का लालु दासकी १२ वषर्ीया छोरी ममताको बिहीबार मृत्यु भएको छ । बिहान दाउरा खोज्न जाँदा उनलाई खोलाले बगाएको थियो ।

बर्दियाको बबई र कणर्ाली नदीमा आएको बाढीले बिहीबार करिब दुई हजार परिवार विस्थापित भएका

छन् । उनीहरूले राजमार्गको छेउ र स्थानीय विद्यालयमा शरण लिएका छन् । गुलरिया नगरपालिकाको बालापुर, तुलसीपुर, रामपुर टप्पु, रत्नापुर, मडहजिया, थपुवा, कोठिया गाउँ डुबानमा परेका छन् । महम्मदपुर गाविसको सूर्यगौडी, टडुवा, जमुनी गाविस-१ फुटहा, बगनाहा गाविस-२ मुक्त कमैया बस्ती, भिम्मापुर गाविस-७, भालुफाँटलगायत ठाउँमा बाढीले २ हजार घरपरिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत केशव शर्माले जनाएका छन् ।

३२ केभी प्रसारण लाइनको कयौं पोल बगाएकाले बिहानदेखि जिल्लामा विद्युत् आपूर्ति ठप्प छ । बाढी नघटेसम्म विद्युत् आपूर्ति नहुने विद्युत् प्राधिकरणले जनाएको छ । गुलरिया-नेपालगन्ज सडक र भुरीगाउँ ढोढरी सडकमाथि पानी बगेकाले यातायात बन्द छ । गुलरिया-१३ मजहडिया र बाँध पुरुवालगायत महम्मदपुर गाविस-सूर्यगौडीमा घरका छतमाथि बसेका करिब २५ जनाको उद्धार गर्न कठिनाइ भएको डीएसपी कमल खरेलले बताए । सिद्धि बक्स गण, सशस्त्र प्रहरी र जनपथ प्रहरी बाढीपीडितको उद्धारका लागि खटिएका छन् । प्रतिकूल मौसम र र्‍यापरको अभावमा छतमाथि बसेकाको उद्धार गर्न नसकिएको खरेलले बताए ।

कणर्ाली नदीको टप्पु राजापुर जोड्ने जलमार्ग कोठियाघाटमा बाढीका कारण डुंगा, स्टिमर ठप्प भएकाले सयौं यात्रु अलपत्र परेको एमाले जिल्ला कमिटी उपसचिव हरि ज्ञवालीले बताए । टप्पुको मनाउ, खैरीचन्दनपुद्युर, राजापुरलगायत गाविसमा बाढीले सयौं घर डुबानमा परेका छन् । विस्थापितका लागि खाने, बस्ने व्यवस्था गर्न नेपाल रेडक्रस जिल्ला शाखाको पहलमा आठ दललगायत विभिन्न संघ-संस्था परिचालित छन् ।

रौतहटको दुई दर्जन गाविसमा एक सय बढी घर भत्किएका छन् । घर भत्किँदा जिङ्गडवा बेलबिछुवा गाविसका शेष अतिउल्लाहका ५ वषर्ीय छोरा थिचिएर घाइते भएका छन् । उनको वीरगन्जमा उपचार भइरहेको छ । जिल्लाको गौर नपा, औरैया, इनरबारी, मिठुअवा, अजगैबी, जिङ्गडवा, करुनिया, इनर्बा, पथराबुधरामपुर, भषेडवा, धरमुरपुर लगायत दुई दर्जन गाविसमा एक सय बढी घर भत्किएको प्रहरीले जनाएको छ ।

सिरहामा घर बगाउँदा खम्बामा चेपिएर अर्नमा प्रपी-५ का कुशेश्वर महरा सख्त घाइते भएका छन् । सोही स्थ्ाानका पछुवा सदाका ११ वषर्ीया छोरी रीना कुमारी घरको भित्ताले चेपिएर घाइते भएकी छिन् । दुवैको स्थानीय उपचार केन्द्रमा उपचार भइरहेको छ । मैनावती खोलामा आएको बाढीका कारण अर्नमा प्रपी-५ र ६ का ६० घरपरिवार विस्थापित भई स्थानीय विद्यालयमा बसेका छन् ।

हरकट्टी गाविसस्थित दसगजा क्षेत्रमा निर्माण गरिएको बाँधका कारण दर्जनौं गाविस डुबानमा पर्दा हजारौं बासिन्दा बिचल्लीमा परेका छन् । त्यहाँ सतहदेखि पाँच फिटमाथिसम्म पानी जमेको छ । पाँच सय परिवार विस्थापित हुने अवस्थामा छन् । बाढीले बरियारपट्टी, सुखीपुर, औरही, तुल्सीपुर, पिप्रा प्रपी, तेनुवापट्टी, इटाटार, जानकीनगर, ठेंगही, गौरीपुर, सिलोर्वापछबारी, कबिलासी, महनौर, बल्ही, हरिनगर, कुशहलक्ष्मीनिया, विद्यानगर, जिझौल, कचनारीलगायतका गाविस डुवानमा परेका छन् ।

दमकमा २ सयभन्दा बढी घरमा पानी पसेको छ । सयौं बिघा धानखेती कटानमा परेको छ । धरमपुर-१ मा कमल खोलामा आएको बाढीले ४५ घर विस्थापित छन् । खोलाले बहाव बदलेर गाउँतिर पसेपछि घरहरू डुबानमा परेका हुन् । अनारमनी-७ अदुवा खोलामा आएको बाढीले घर डुबानमा परेपछि ३७ सुकुम्बासी परिवार विस्थापित भएका छन् । कन्काई नदीले सतासीधाम-८ का २० भन्दा बढी परिवार विस्थापित भएका छन् । दमकको दिपेनी खोलाको बाढीले २० भन्दा बढी घर डुबानमा परेका छन् । बाढीका कारण सुरुंगा कुच्मरक्खोड धरमपुर चोकबाट गाउँतिर जाने सडक अवरुद्ध भएको छ ।

पर्वतमा पहिरोमा परी पांग गाविस-४ का तेजराम सुवेदी र सुशीला कार्की घाइते भएका छन् । खेमबहादुर मल्ल र दीपक सुवेदीको घरमा क्षति पुगेको छ । पोखरा-बागलुङ राजमार्ग तथा मालढुंगा-बेनी सडक अवरुद्ध छ । मालढुंगा-बेनी सडक विस्तार क्रममा पहिरो जान थालेपछि कालीगण्डकी किनारका चार दर्जनभन्दा बढी घर प्रभावित भएका छन् ।

पाल्पाका ग्रामीण सडक अवरुद्ध

छन् । आर्यभन्ज्याङ-रामपुर, हार्थोक-छहरा र बाँसटारी झडेवा सडकमा मंगलबार साँझदेखि सवारी चल्न सकेका छैनन् । आर्यभन्ज्याङका विजय श्रेष्ठले जानकारी गराएअनुसार मंगलबार साँझदेखि बस, जिपलगायत कुनै पनि सवारीसाधन चलेका छैनन् ।

कैलालीको दक्षिण-पूर्वी क्षेत्रको जनजीवन प्रभावित छ । भजनी-९ नयाँ बस्तीका २० परिवार विस्थापित छन् । यस्तै करिब ७० परिवार कृष्णध्वज मावि, मोहन्याल गाविस भवन र प्रहरी चौकीमा बसेका छन् । माओवादी शिविर र मुक्त कमैया बस्तीमा पनि बढी क्षति पुगेको छ ।

महोत्तरी सदरमुकाम जलेश्वरलगायतका गाउँ डुबानमा परेका छन् । बिगही खोलाको बाढीका कारण यातायात अवरुद्ध छ । दक्षिणवर्ती २८ गाविसका ६ सयभन्दा बढी घरमा क्षति पुगेको छ । डुबान क्षेत्रमा उपभोग्य वस्तु अभाव हुन थालेको छ । प्रशासन कार्यालयमा बिहान बसेको जिल्ला दैवीप्रकोपको आकस्मिक बैठकले पीडित पहिचान गरी तत्काल राहत उपलब्ध गराउन तथा अवरुद्ध सडक यथाशीघ्र सुचारु गराउन मातहतकालाई निर्देशन दिए पनि प्रतिकूल मौसमले सम्भव हुन सकेको छैन ।

सर्लाहीमा बिहीबारसम्म १ सय ९४ घर भत्किँदा त्यहाँ बस्दै आएका अधिकांश दलित परिवार विस्थापित भएका छन् ।

उदयपुरमा सदरमुकाम गाईघाटसहित दर्जनभन्दा बढी गाविस जलमग्न छन् । सप्तकोसीको बाढीले तपेश्वीर-१५ मा सय घर डुबानमा परेका छन् । गाविसको १ देखि ६ वडाका करिब १५ सय घर प्रभावित भएको निवर्तमान गाविस उपाध्यक्ष नन्दीलाल चौधरीले बताए । ठोक्सीला-४ का पुष्प सदाको घर बगाउनुका साथै २२ घर डुबानमा परेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

कटारी-ओखलढुंगा सडक अवरुद्ध भई यातायात बन्द हुँदा ओखलढुंगा सदरमुकाममा तीन दिनयता खाद्यान्नलगायत उपभोग्य वस्तुको अभाव हुन थालेको स्थानीय लालु श्रेष्ठले बताए ।

चितवनको भरतपुर, नारायणगढ, टाँडी, सौराहालगायतका व्यापारिक केन्द्रमा पानी जमेको छ । सडकमा हलुका सवारीसाधनको चहल पहलमा कमी देखिएको छ । तनहुँमा पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी नजिक ऐनापार्कीमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ ।

जनकपुर नगरपालिकाको विभिन्न क्षेत्र र पूर्वी धनुषाका एक दर्जन गाविस विभिन्न गाउँ डुबानमा परेका छन् । जमुनी, जलाद, जगदर र बिग्घी नदीमा आएको बाढीले यातायात अवरुद्ध भएको छ । भारतको जयनगरसम्म चल्ने मुलुकको एकमात्र रेल सेवा पनि बन्द हुन पुगेको छ ।

बाँकेमा घरभित्र पानी पस्दा सय परिवार विस्थापित छन् । नेपालगन्ज नगर क्ष्ाेत्रमा मात्र ४४ परिवारले घर छोडेका छन् । वडा-५ को सल्यानीवाग क्षेत्र अत्यधिक डुबानमा परेको छ । यहाँका अधिकांश घरभित्र पानी पसेको छ । सल्यानीवागस्थित निमाविमा २६ परिवारले आश्रय लिएका छन् भने नगरपालिकाको सटरहरूमा १८ परिवार छन् । बिहीबार अधिकांश विद्यालय बन्द रहे । सिनेमा घरसमेत बन्द गरिए । नगरमा विद्युत् प्रसारण बन्द गरिएको छ । बाँकेकै ग्रामीण क्ष्ाेत्र टिटहरियामा १५ परिवार घर डुब्ने डरले स्थानीय स्कुलमा सरेका छन् । राप्ती नदीमा बाढी आएपछि डुबान हुनसक्ने क्षेत्रको स्थलगत निरीक्षणका लागि सेना र प्रहरी पठाइएको छ । जिल्ल्ाा प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कृष्णप्रसाद आचार्यले भने- 'खडैचामा पानी पसेको खबर आएकाले गस्ती पठाइएको हो ।'

यसैबीच सप्तकोसी नदीमा पानीको बहाव बढेपछि बिहीबार खतराको संकेत रातो बत्ती बालिएको छ । ब्यारेजमा रातो झन्डा गाडिएको र ५५ मध्ये २५ ढोका बन्द गरिएको कोसी ब्यारेज प्रहरीले जनाएको छ ।

पछिल्लो रेकर्डअनुसार कोसीमा प्रतिसेकेन्ड झन्डै २ लाख घनमिटर पानी बहाव छ ।

यस्तै कोसीको मध्यभागमा रहेका गोभरगाढा, श्रीलंका टापु र नरसिंह गाविस डुबानमा परेका छन् । इटहरीको टेंग्रा खोलाको शाखा नहर भत्कँदा इटहरी-९ वडाका दर्जनौं घरमा पानी पसेको छ । सोनापुरका दर्जन बढी आदिवासी विस्थापित भएका छन् । कोसी ब्यारेजको उत्तरतिर रहेको श्रीलंका टापु र दक्षिण क्षेत्रमा रहेको गोभरगाढामा ४ हजारभन्दा बढी सर्वसाधारण भैंसीपालन पेसा गरेर बस्दै आएका छन् ।

भारतले बाँध खोलेन

विकास थापा

काठमाडौं, १० साउन- बाँकेका दर्जन गाविस डुुबानमा पार्ने लक्ष्मणपुुर बाँधको निकास खोल्न नेपालसँग गरेको सहमति भारतले उल्लंघन गरेको छ । सरकारले सहमति कार्यान्वयनका लागि पटकपटक ताकेता गर्दा पनि भारतले वास्ता नगरेपछि बाँकेका सीमा क्ष्ाेत्रका गाविसहरू डुुबानको खतरामा छन् ।

वषर्ा सुुरु भइसकेकाले बाँकेका दक्षिणी भेग जतिखेर पनि डुुबानमा पर्न सक्ने जल उत्पन्न प्रकोप नियन्त्रण विभागका इन्जिनियरले चेतावनी दिएका छन् । हरेक वषर्ायाममा सीमावर्ती एक दर्जन गाविस उक्त बाँधबाट डुुबानमा पर्दै आएका छन् ।

नेपाल र भारतबीच तीन वर्षअघि 'लक्ष्मणपुुर बाँधको निकास खोल्ने' सहमति भएको थियो । लक्ष्मणपुुर बाँध विवादमा आएपछि यसको छिनोफानो गर्न गठित उच्चस्तरीय प्राविधिक समिति -एचएलटीसी) को २८ सेप्टेम्बर, २००६ मा काठमाडौंमा भएको बैठकमा भारतले त्यस्तो सहमति जनाएको हो ।

सहमतिअनुुसार बाँध संरचनामा के-कति पानीको परिमाण निकास भए नेपाली भूभाग डुुब्दैन भन्ने पत्ता लगाउन उपसमितिसमेत गठन भएको थियो ।

नेपाली पक्षको उपसमितिले भारतीय अधिकारीलाई आफ्नो प्रतिवेदन दिइसकेका छन् । 'भारतले सक्दो चाँडो प्रतिवेदन कार्यान्वयन गर्ने सहमति गरेको थियो,' विभागका सहसचिव खोमराज दाहालले भने-'तर कैयौंपटक ताकेता गर्दा पनि वास्ता गरेको छैन ।'

सरकारले 'हाइड्रोलोजिकल एनालाइसिस एन्ड डिजाइन' सम्बन्धी उक्त प्रस्ताव भारतको लखनऊमा भएको उपसमितिको एक बैठकमा दिएको जलस्राेत मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर केशवध्वज अधिकारीले बताए ।

परराष्ट्रमार्फत जलस्राेत मन्त्रालयले त्यसको लगत्तै 'सहमति चाँडै कार्यान्वयन' गर्न -बाँधको निकास खोल्न) लगत्तै भारतीय दूतावासलाई पत्र लेखेको उनले बताए ।

अधिकारीका अनुुसार नेपाल सरकारले लक्ष्मणपुुर बाँधबारे भारतलाई विभिन्न अनौपचारिक सभा समारोह र राजनीतिक नेतृत्वको भेटघाटका अवसर पारेरसमेत सहमति कार्यान्वयनका लागि अनुुरोध गर्दै आएको छ ।

केही महिनाअघि नयाँदिल्लीमा भएको 'ऊर्जा सम्मेलन' मा समेत जलस्राेत राज्यमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले भारतीय समकक्षी, जलस्राेत सचिव र अन्य अधिकारीलाई समस्याबारे अवगत गराएका थिए ।



Posted on: 2007-07-26 20:52:19

No comments: