Monday, July 30, 2007

बाढी प्रभावित क्षेत्रमा रोगव्याधि

बाढी प्रभावित क्षेत्रमा रोगव्याधि



कान्तिपुर संवाददाता


काठमाडौं, साउन १३ - बाढीपहिरो र डुबान क्षेत्रका बासिन्दा सरुवा रोगबाट बिरामी पर्न थालेका छन् ।
पूर्वका मोरङ, धनुषा र पश्चिम नेपालका राप्तीपारिका गाउँ तथा डुबानमा परेको नेपालगन्जमा झाडापखाला, ज्वरो, टाइफाइट र रुघाखोकीबाट सयौं परेका छन् । तीमध्ये धेरै महिला, बालबालिका र वृद्धवृद्धा छन् ।

मोरङमा हजारभन्दा बढी ज्वरोबाट प्रभावित छन् । तीमध्ये केहीमा टाइफाइडको लक्षण देखिएको छ । धनुषामा बालबालिका र वृद्धवृद्धा बिरामी परेका छन् । राप्तीपारिका गाउँ र नेपालगन्जमा ४ सयभन्दा बढी झाडापखाला र ज्वरो प्रभावित छन् ।

मोरङ लेटाङवासी ज्वरो र टाइफाइडबाट बिरामी भएका हुन् । स्थानीय स्वास्थ्यकर्मी सीताराम लुइँटेलका अनुसार खोलाको धमिलो पानी खान सुरु गरेयता ज्वरोबाट बिरामी भएका हजारभन्दा बढी स्थानीयवासी उनका क्लिनिकमा उपचार गराउन आएका छन् । तीमध्ये धेरैलाई टाइफाइडको संक्रमण छ ।

'लेटाङका प्रायः सबै घरमा ज्वरो र टाइफाइडका बिरामी छन्,' उनले भने । स्थानीय तीनवटा स्वास्थ्य क्लिनिकमा तीन दिनदेखि ज्वरो र टाइफाइडका बिरामीको भीड लागेको छ ।

उपचार निम्ति आएकी स्थानीय चन्द्रकला तामाङले भनिन्- 'गाउँभरि ज्वरोका बिरामी छन्, डाक्टरले ज्वरो आउनुको कारण खराब पानी बताएका छन् ।' बाढीले खानेपानीका पाइप बगाउँदा ४० हजार स्थानीयवासी चिसाङ खोलाको धमिलो पानी खान बाध्य छन् ।

धनुषामा मठमन्दिर, विद्यालय तथा आफन्तका घरमा शरणमा बसेका विस्थापितहरूको स्वास्थ्य स्थिति बास, खानेकुरा तथा लुगाफाटाको अभावमा बिगि्रँदै गएको छ । बालबालिका र वृद्धवृद्धा बिरामी पर्न थालेका छन् । शुद्ध पिउने पानीको अभावमा झाडापखालाजस्ता रोग फैलिने सम्भावना बढेको छ । यहाँ ६ सयभन्दा बढी परिवारका करिब ४ हजार व्यक्ति विस्थापित छन् । यस्तै राप्तीपारिका गाउँका बालबालिका ज्वरो र रुघाखोकीबाट प्रभावित छन् ।

'भोकै बाढीमा भिजेर बस्नुपर्‍यो । म, केटाकेटी सबै बिरामी छौं,' बाढीग्रस्त बाँके गंगापुरकी रेशमा कुर्मीले भनिन् । त्यस्तै जइकाद कुर्मीले गाउँका दर्जनौं बालबालिका बिरामी परेको बताइन् । गंगापुर बाढीबाट अत्यधिक प्रभावित गाउँ हो ।

महामारी फैलन नदिन जिल्ला जनस्वास्थ्यले टोली खटाएर औषधोपचार सुरु गरेको छ । नेपालगन्ज, खजुरा, होलिया, बेतहनी, गंगापुर र वनकट्वामा स्वास्थ्यटोली पुगेको छ । 'झन्डै पाँच सय बिरामीको स्वास्थ्य परीक्षण गरायौं,' जनस्वास्थ्य अधिकृत केहरसिंह गोदारले भने- 'तीमध्ये चार सयजति झाडापखाला र ज्वरोका बिरामी छन् ।'

बाढी तथा डुबान क्षेत्रमा शुद्ध पिउने पानीको अभाव छ । नगरभित्र शनिबारदेखि दमकलबाट पानी वितरण सुरु गरिएको छ । पानी पिउनयोग्य पार्न युनिसेफले वाटरगाड उपलब्ध गराएको छ ।

बाढीबाट सबैभन्दा धेरै प्रभावित राप्तीपारिको गंगापुरमा आइतबार हेलिकप्टरबाट राहत सामग्री वितरण गरियो । रेडक्रस उपाध्यक्ष गोवर्द्धन सिंह सम्झनाका अनुसार राहतस्वरूप पाँच दिनलाई पुग्ने गरी १ हजार जनालाई चिउरा, भेली, चाउचाउ र बिस्कुट वितरण गरिएको छ ।

क्षति जारी

महोत्तरीमा ३ हजार ५ सय परिवार विस्थापित भएका छन् । उनीहरूले विद्यालय, गाविस भवन, सडकपेटी तथा आफन्तका घरमा शरण लिएको प्रहरीले जनाएको छ । प्रतिकूल मौसम र अवरुद्ध सडकका कारण जलेश्वरबाहेक अन्यत्र राहत वितरण हुन सकेको छैन ।

रौतहटमा दुई दर्जन गाविसमा दुई सयभन्दा बढी घर भत्किएका छन् । क्षति भएका गाउँमा प्रशासनले आइतबारदेखि राहत वितरण सुरु गरेको छ । घर भत्किएका परिवारलाई ४ हजारका दरले राहत दिइएको छ ।

मोरङमा इटहरा, सिजुवा र बरडंगा गाविसका ६५ परिवार विस्थापित छन् ।

संखुवासभामा पाँच दिनदेखि उडान हुन सकेको छैन । सयौं यात्री तुम्लिङटार विमानस्थलमा अलपत्र छन् । आँखीभुइँ-८ का खेमराज विक, विश्वेश्वरा कार्की र जंगध्वज श्रेष्ठको घर पहिराले बगाएको छ । यहीँका ध्रुव विष्ट र दुई कार्की परिवार पहिरामा घर परेपछि विस्थापित छन् ।

सप्तरीमा पोर्ताहा-८ स्थित बाँध शनिबार राति भत्किँदा गिदखोरा, भुलवा, पोर्ताहा डुबानमा परेको छ । मुसहरी टोलका बासिन्दा रातिदेखि नै सडकमा बसिरहेका छन् । बाढीबाट ३ दर्जन गाउँका १० हजारभन्दा बढी परिवार विस्थापित छन् ।

गुल्मीमा राहत

पहिरामा परी मृत्यु भएका हंसरा गाविसका ७ परिवारलाई प्रतिपरिवार २० हजार रुपैयाँ वितरण गरिएको छ । शनिबार हंसरामा सात जनाको मृत्यु भएको थियो । रूपाकोट र गौंंडाकोट गाविसमा गरी १२ घर बगेका छन् ।

सिरहामा ६७ गाविस, दुई नगरपालिका डुबानमा पर्दा ६ हजार परिवार विस्थापित भएका छन् । दस हजार घर भत्केको नेपाल रेडक्रस सोसाइटी शाखा सिरहाका सभापति राजदेव यादवले बताए ।

पर्सामा करिब दुई हजार दुई सय घर डुबानमा छन् । पकाहा, धोरेलगायतका गाविस बढी प्रभावित छन् । ६५ पीडित परिवारलाई रेडक्रसले राहत वितरण गरेको छ ।

सुनसरीका तीन दर्जन बढी गाविस डुबानमा छन् भने दुई हजार सर्वसाधारण विस्थापित छन् । सुनसरी खोला, बुढी र टेङ्ग्रा खोलाको बाँध फुटेको छ भने कोसी नदीमा पानीको बहाव बढेकाले महेन्द्रनगर, प्रकाशपुर, कुसाहा र मधुवन गाविसमा त्रास फैलिएको छ ।

बर्दियामा बाढीले ३ हजार २ सय घरमा क्षति पुगेको छ । बबई र कणर्ालीमा आएको बाढीले ८ सय ५० परिवार विस्थापित छन् । आठवटा शिविरमा नअटेपछि उनीहरू सडकमा पाल टाँगेर र विद्यालयहरूमा आश्रय लिइरहेका छन् ।

नवलपरासीमा बाढीले सदरमुकाम परासीका पोखरापाली बजारलगायत दर्जनौं गाउँ डुबानमा परेका छन् । मधवलिया, नबडिहवा, खडौंनाका गाउँवासी भाग्न नसकेर घरका छतमाथि बसेका छन् । सयौं कच्ची घर भत्किसकेका छन् । कुडिया-४ का १० परिवार विस्थापित छन् ।

धनुषामा राहत वितरण गर्न दस केन्द्र स्थापना गरिएको छ । पीडितलाई चिउरा, चिनी, चाउचाउ, जीवनजल आदि उपलब्ध गराइएको छ ।

कैलालीमा १५ सय परिवार विस्थापित भएका छन् ।

पाल्पामा तीन घर भत्किएका छन् । पीडित परिवार छिमेकीकामा शरण लिएर बसेका छन् । पहिराका कारण सवारी चल्न सकेका छैनन् ।

बाली नष्ट

बाढीबाट पूर्वमा करिब ४० हजार हेक्टर खेतको धानबाली नष्ट भएको छ । सिरहामा १८ हजार हेक्टर खेतमा लगाएको धानबाली डुबानमा परेको क्षेत्रीय कृषि कार्यालय विराटनगरले जनाएको छ । सप्तरीमा ५० हेक्टर खेत बाढीले कटान गरेको छ भने १५ हजार हेक्टर डुबानमा परेको छ । यहाँ १ हजार ५ सय हेक्टर खेत बालुवाले पुरेको छ । सुनसरीमा ५ हजार बिघाभन्दा बढीको धान र तरकारी बाली नष्ट भएको छ ।

राहत माग्दै प्रदर्शन

बाढीका कारण बेरोजगार सुनसरी इनरुवाका करिब ४ सय मजदुरले राहत माग गर्दै आइतबार साँझ प्रदर्शन गरेका छन् । उनीहरूले खाद्यान्न माग गर्दै प्रशासनमा धर्ना पनि दिए । जुलुसमा महिला, बालबालिकाको उल्लेख्य सहभागिता थियो । निमोनिया र ज्वरोका बिरामीको पनि जुलुसमा सहभागिता थियो । उनीहरूले इनरुवा बजार क्षेत्रमा नाराबाजी गरेका थिए । आक्रोशित समूहले प्रमुख जिल्ला अधिकारी प्रेमनारायण शर्माको निवासमा धर्ना दिएका थिए । प्रहरीले धर्नाकारीलाई नियन्त्रणमा लिन बल प्रयोग गरेको थियो ।



Posted on: 2007-07-29 20:55:46

No comments: